टोकन नं १४०९

२०७० मंशिर १९ गते, मंगलबार

‘सेवाग्राहीहरूको अत्याधिक चापलाई मध्यनजर गर्दै, द्रुत सेवा मार्फत् वितरण गरिने राहदानीको फारम बुझाउने टोकन विहान ८ बजेदेखि दिइन्छ ।’
मैले परराष्ट्र मन्त्रालयको वेबसाइटमा यस्तै सूचना पढेको थिए । मेरो दिमागमा त्यही कुरा थियो ।

सोचे करिव एक घण्टा अगाडि पुगे भने पनि त ठिकै होला ।
मंगलबार, सधै उठ्ने समयभन्दा केही अघि नै उठे । करिव ७ बजेतिर म तत्कालिन नारायणहिटी दरबार र हालको परराष्ट्र मन्त्रालय भएको भवन नजिकै पुगे । आम्मामा ! कति धेरै मान्छेको भीड । परराष्ट्र मन्त्रालयको परिसर वरपर टन्नै मान्छेहरू छरिएका थिए । पारिपट्टि रहेको केशर महल बाहिर र ठमेल जाने बाटो आसपासमा समेत मानिसहरूको भीड बाक्लै थियो । म त एकछिन त्यही भुलभूलैयामा परे । मानिसहरूको चहलपहल र भीड हेर्नमै व्यस्त भए केहीबेर । ती भीडहरूमा प्राय जसो युवाहरू थिए ।

बिहानको समय । भर्खर घाम लाग्दै थियो । कतिपय घाम भेट्ने ठाउँमा उभिएर घाम ताप्न व्यस्त थिए । कोही भने घुम्ती चिया बिक्रेतासँग चिया किनेर खाँदै थिए । कोही समूह बनाएर गफिन व्यस्त थिए । कोही बाटोको रेलिङमा बसेर पत्रिका पढ्दै थिए । नजिकै एउटा लामो लाइन देखे । त्यो लाइनलाई पच्छ्याउँदै म परराष्ट्र मन्त्रालयको गेट नजिक पुगे । गेट नजिकै केही प्रहरी कर्मचारीहरू तैनाथ थिए । उनीहरू कहिले सिठी फुक्थे त कहिले चिच्याउँथे । यताको भीडलाई उता र उताको भीडलाई यता गर्नमै उनीहरू व्यस्त थिए । मैले नजिकैको प्रहरीलाई राहदानीको फारम कताबाट बुझाउने भनेर सोधे । उसले छक्क परेर मलाई तलबाट माथिसम्म हेर्दै सोध्यो । ‘नयाँ लिनको लागि फारम हो?’
‘हो । नयाँ लिने फारम । द्रुत सेवा मार्फत् ।’ मैले हतार–हतार जवाफ दिए ।
‘हा हा हा…याँ सब द्रुत सेवामै आउने हो । उ यो लाइनमा उभिनुस् ।’ उसले हाँस्दै मलाई त्यही लाम देखाए, जुन लामलाई छिचोल्दै म गेटसम्म पुगेथे । म त्यो लाममा उभिन फेरि पछाडी फर्किए । म लाममा सामेल भए । मेरो अगाडि म जस्ता धेरै युवाहरू लाममा उभिएका थिए । प्रायजसो सबैको हातमा ‘माइ क्लिएर ब्याग’ जस्तो देखिने पलास्टिकका फाइल थिए । फाइलमा नागरिकताको सक्कल प्रतिलिपीका साथमा राहदानीका लागि भरिएको फाराम र केही प्रति फोटो थिए ।

केहीबेरमै हल्लाखल्ला गर्दै लाम अगाडि बढ्यो । लाम बढ्ने गती सोचे भन्दा छिटो थियो । गेट नजिक पुग्नासाथ यसो अगाडिपट्टि हेरे । केही प्रहरीहरू विद्युत्तिय यन्त्रबाट भित्र छिर्ने व्यत्तिहरूको शरिर जाँच गर्दै थिए । शरिर जाँचको काम सकिनासाथ ती व्यक्तिहरू दौडेर भित्र छिर्थे । मेरो पनि पालो आयो । मेरो पनि शरिर जाँच भो । देखाउन सजिलो हुन्छ भनेर मैले नि मेरो ‘माइ क्लिएर ब्याग’को फाइललाई हातमै बोकेको थिए । मलाई ती शरिर जाँच्ने प्रहरीले भित्र छिर्न आदेश दिए । म विद्युत्तिय गेट हुँदै भित्र छिरे । म पछि पछि आउने केही केटाहरू दौडेर अगाडि बढे । मैले सोचे म नि दौडन्छु । दौडिए । यस्तो दौडाइ मैले भारतीय टिभी च्यानलमा प्रसारण हुने रियालिटी सो जस्तैः इन्डिएन आइडियल, एक्स फ्याक्टर आदिमा देखेको थिए । गेट खुल्नासाथ ह्वार्र युवायुवतिको भीड दौडेर भित्र छिरेको टिभीमा देखाउँदा यस्तो लाग्थ्यो, यो ठूलै महासङ्ग्राम हो ।

केही केटाहरूले दौडेर मलाई छिचोले । केही केटाहरूलाई मैले नि छिचोले । दौडनुको राज बल्ल खुल्यो । भित्र अर्को लाम रैछ । लाममा अगाडि पालो पाउनका लागि ती केटाहरू मरिहत्ते गरेर दौडिएका रहेछन् । सोचे, आजको दिन मेरो लाम लागेरै बित्ने भो । म लाममा उभिए । यो लाम फारममा टोकन लाउनका लागि रहेछ । लाम सजिलै र चाँडै अगाडि बढिरहेको थियो । एकजना प्रहरी लाम मिलाउन र अर्को एकजना कर्मचारी फारममा टोकन छाप हान्न खटिएका थिए । मेरो फारममा नि टोकन छाप लाग्यो । टोकन नम्बर १४०९ ।
टोकन लाग्नासाथ यसो पछाडि फर्केर हेरे । म पछाडि अझै १०० जना जति लाममा थिए । पुरुषहरूको लाइन छेउमै महिलाहरूको अर्को लाइन थियो । उनीहरू पनि त्यहाँ टोकन लिन नै लाइन लागेको थाहा
भयो । टोकन पाएका केटाहरू फेरि दौडिएर अगाडि बढ्थे । म पनि दौडिए । सोचे, अगाडि दौडनेहरूकै पछि पछि दौडनु हितकर छ । केहीबेरको दौडाइ पछि म एउटा ठूलै भीडमा पुगे । जहाँ १५ सय भन्दा बढी युवा युवती र केही पाका उमेरका व्यक्तिहरूको भीड थियो । त्यही भीडभित्र म नि छिरे । अपरिचित अनुहारहरूलाई हेर्दै, मुस्काउँदै, छक्क पर्दै अगाडि बढिरहे ।

‘फाराम त दश बजेपछि देखि मात्र बुझ्छन् रे ।’ एकजना झुस्स कपाल पालेका, कैलो जुँगा र दाह्री पालेका, पछाडी झोला भिरेका, घाँटीमा गलबन्दि बाँधेका, मैलो–मैलो भईसकेको ज्याकेट, मैलै प्यान्ट, हात्ति छाप चप्पल लगाएका र हातमा नेपाली कागजको फाइल बोकेका एकजना दाजुले भने । भीडमा बोल्न, यस्ता जानकारी दिन चिनेकै मान्छे हुनुपर्छ भन्ने रहेनछ । एउटाले बोल्न शुरु गर्नासाथ उसको कुरा सुन्न मान्छे वरिपरि झुम्मिहाल्थे ।
मैले ‘ए, हो र?’ भन्दै उनको आँखामा हेरे । उनको आँखामा चमक भने थियो । अचम्मको चमक र केही आशा थियो उनको आँखामा । मैले पुलुक्क उनको फाराममा आँखा गाँडे । बैतडीका रैछन् । उनी बैतडीदेखि, राजधानीमा राहदानी बनाउन आइपुगेका थिए । त्यो नि १०,००० रुपैंया शुल्क तिरेर द्रुत सेवा मार्फत् ।

एकतले लामो भवन, त्यसको अगाडिपट्टि ओत लागेर बस्न बनाइएको ठूलै टहरो र बिचमा केही कुर्चीहरू राखिएका थिए । कुर्चिहरू शितले लपक्कै भिजेका थिए । कुर्चिमा नम्बर पनि लेखिएको थियो । त्यहाँ नम्बर लेखिएका करिब ३ सय जति कुर्चिहरू थिए । केही व्यक्तिहरू कुर्चिमा लागेको शित पुछ्दै थिए । कोही कुर्चिमाथि उभिएर अगाडिको भीड हेर्दै थिए । छेउमै एउटा शौचालय थियो । शौचालयको गन्ध यतैसम्म ह्वास्सै आउँथ्यो । एक तले भवनमा ५ वटा जति कोठाहरू थिए । ती कोठाहरूलाई राहदानी फारम बुझ्ने र राहदानी वितरण गर्ने काउण्टरका रुपमा प्रयोग गरिएका थिए । त्यहाँ लेखिएको बोर्डले यस्तै सङ्केत गथ्र्यो ।
‘आफ्नो टोकन नम्बर अनुसार नै कुर्चिमा बस्ने हो रे ।’ एकजना भाइले भने ।
‘ए हो, र ?’ अर्को सँगैको केटाले छक्क पर्दै सोध्यो । उसले आफ्नो टोकन नम्बर हतार–हतार हेर्यो ।
‘ज्या, मेरो त ९०० पो रैछ त टोकन नम्बर पनि । याँ ९०० वटा कुर्चि छन् त ?’ उसले औंलाले इसारा गर्दै कुर्चि गन्न थाल्यो ।
‘तपाईं त यतै उभिने हो । मेरो त ३१० हो टोकन नम्बर । मेरो लागि त कुर्चि छ । हे हे ।’ केटो द¨ पर्दै आफ्नो कुर्चि खोज्न गयो । मैले आफ्नो फाराम हेरे । टोकन नम्बर १४०९ । एकचोटीमा ३००को हाराहारीमा पालो आउने रैछ कुर्सिमा बस्ने । मैले अनुमान गरे । मेरो त पाँचौं लटतिर मात्र पालो आउने रैछ । यसो हातको घडि हेरे भर्खर बिहानको सबा आठ बजेको थियो । अझ पौने दुई घण्टा बाँकी छ दश बज्न । ओहो, समय कसरी
काट्ने !

भीडलाई छिचोल्दै यसो घाम भएको ठाउँमा उभिनु पर्यो भनेर म राहदानी विभागको प्रमुख गेटतिर लागे । त्यहाँ नजिकै उभिएका एकजना प्रहरीलाई सोधे, ‘दाजु मेरो टोकन नम्बर १४०९ हो । कतिबजे तिर पालो आउँला ?’
उनले हाँस्दै भने, ‘हे हे…१४ सय भने पछि त धेरै लास्टमै परि गो त । धन्न टोकन चाँही पाउनु भएछ । तपाईं त बाहिर गएर दिउँसो ३–४ बजेतिर मात्र आउँदा हुन्छ । अहिले पालो आउँदैन तपाईंको ।’
बाहिर ? बाहिर काँ जाने । अन्योल । मैले तत्काललाई बाहिर नजाने निर्णय गरे ।
नजिकै घाम भएको ठाउँतिर गए । त्यहाँ अगाडि देखि नै ५–६ जनाको एउटा समूहमा केही व्यक्तिहरू गफिन व्यस्त देखिन्थे । म नि त्यही समूह नजिकै गएर उभिए । समूहमा एकजना अलि पाको उमेरका व्यक्ति बडो फूर्तिका साथ आफ्ना कुराहरू राख्दै थिए । सँगै उभिएका अरु व्यक्तिहरू उनको कुरा एकटक लाएर द¨ परेर सुन्दै थिए । मैले नि उनको कुरा एकछिन कान त्यतैतिर राखेर सुने ।
उनी भन्दै थे, ‘…ट्याँ ट याँ जस्टो हो र? ट्याँ ट कोही ठूलै मान्छेको सबारी भो भने पनि जनटाहरू कसैलाई था हुन्न । याँ भे त बातै जाम गरेर जनटालाई कटि सास्टी डिन्थे ।…ट्याँ फेरि केटाहरू सब सेफ गरेर चिल्लो हुन्छन् । कसैले डारी जुँगा पाल्डैनन् । सुतेड बुटेड भएर चत्त पर्छन् । केतीहरू पनि च्वाक च्वाक हुन्छन् फेरि । काममा फेरि ट्यटीकै लगाव राख्छन् । काम सिक्न ट एकचोती जानै पर्ने डेश हो ट्यो…’ यत्रो कुरा सुनिसक्दा पनि मैले ती व्यक्तिले कुन देशको बारेमा कुरा गरिरहेका छन् भनेर ठम्याउन सकिरहेको थिइन । डल्ले डल्ले, मोटे मोटे, छालाको जुत्ता लगाएका, जिन्सको प्यान्ट, सर्ट अनि छालाको ज्याकेट लगाएका, टाउँकोमा क्याप अनि हातमा अरुले झैं राहदानीको फारम भएको फाइल बोकेका ती व्यक्तिको बोलीको लवजले तिनी यतै काठमाण्डौं ललितपुर तिरका नेवार हुन् भन्ने छेको पाइन्थ्यो । केहीबेर पछि था भो, ६ बर्ष जति जापान बसेका ती दाजु आफ्नो जापान अनुभव त्यहाँ भेला भएका अन्य व्यक्तिहरूलाई सुनाउँदै रहेछन् । उनको कुरा जति–जति चर्को हुन्थ्यो, त्यती त्यती उनका कुरा सुन्न वरपर मान्छेहरू झ्यामिन्थे । उनी पुरानो राहदानी खारेज गरि नयाँ बनाउन त्यहाँ आएका रहेछन् । नयाँ अर्थात् एमआरपी । पुसको अन्तिम सातातिर फेरि जापान उड्ने कुरा उनले समूहमै जिकिर गरे । उनको कुरा जति सुनौं उती सुनिरहु झैं लाग्थ्यो तर म त्यहाँबाट एकछिन नजिकैको चमेना गृहतिर सोझिए ।

चमेना गृहमा विहान देखि नै चिया र नास्ता खाने मान्छेहरूको भीड थियो । मैले नि एक कप कालो चिया र एक प्लेट चनाको लागि टिकट काटे । त्यहाँ अग्रिम टिकट काटेर मात्र खानेकुरा लिन पाइने रैछ । विहानको नौ बज्न लागिसकेको थियो । मन्त्रालय र राहदानी विभागका कर्मचारीहरूको आउने क्रम शुरु भएर पनि होला चमेना गृह र आसपासमा मानिसहरूको भीड बढ्न थालेको थियो । मेन गेटमा हल्लाखल्ला बढ्दै थियो । बाइक र कारमा मान्छेहरू आउने क्रम जारी थियो । गेटमा खटिएका दुईजना प्रहरीहरू गेटमा लागेको भीड नियन्त्रण गर्नमै व्यस्त थिए ।

खाजा खाइसकेपछि एकछिन घाममा बस्नुपर्यो भनेर गेट नजिकै रहेको सोधपुछ कार्यलयको पछाडीको पर्खाल अगाडि उभिन गए । त्यहाँ अगाडि देखि नै केही युवा युवतीहरू घाम तापेर गफ गर्दै थिए । हिउँदको समय, विहानको पारिलो घाम । एकछिन भएपनि त्यो घाममा बस्न पाउँदा सँसारै भुले झैं भएको थियो । त्यतिकैमा एकजना प्रहरी सिठी फुक्दै आइपुगे ।
‘ल, ल तपाईंहरू यता नबस्नुस् । जानुस्, भित्र जानुस् । यता भीड नगर्नुस् ।’ हातमा भएको डण्ठा हल्लाउँदै ती प्रहरीले सबलाई बसिरहेको ठाउँबाट उठ्न र त्यहाँबाट जान भन्दै थिए ।
‘एकैछिन त हो दाजु । एकछिनमा गईहाल्छौं नि ।’ मैले भने ।
‘अफिस टाइम सुरु हुन लाग्यो । यहाँ भीड नगर्नुस् ।’ उसले नजिक आएर भन्यो ।
सबैजना उठेर राहदानीको फाराम बुझ्ने ठाउँतिर लागे । कोही बाहिर गए ।
मलाई कता जाउँ, कता जाउँ भयो । भित्र जाउँ त अहिले पालो आउने हैन । बाहिर जाउँ त, भित्र छिर्न फेरि लाइन लाग्नु पर्छ रे । लाइन लागेरै बित्ने भो आजको दिन !

म भित्रै गए । भित्र अर्थात् राहदानीको फाराम बुझ्ने ठाउँमा । त्यहाँ सेवाग्राहीहरू झुण्ड–झुण्ड बनाएर गफिन व्यस्त थिए । दश बज्नै लागेको हुँदा, अगाडि नम्बर हुने सेवाग्राहीहरू भने कुर्चीमा बसिसकेका थिए । कुर्चीमा बसेका मध्ये कोही त्यही उङ्दै थिए । कोही पत्रिका पढ्दै थिए । एउटा पत्रिकाको वरपर दशजना भन्दा बढीको भीड थियो । कोही तलतिरबाट, कोही दायाँतिरबाट, कोही बायाँतिरबाट, कोही माथिबाट पढ्दै या भनौं हेर्दै थिए पत्रिका । कोही मोबाइलमा गेम खेल्दै थिए त कोही गीत सुन्दै थिए । कोही कुर्चीमाथि उभिएर काउण्टरको ढोका कतिखेर खुल्छ भनेर हेर्दै थिए । कुर्चीमा बस्नेहरूलाई हेर्दै आफू कुर्चीमा बस्ने पालो कुर्दै बाहिरपट्टि उभिने मान्छेको ताँती पनि उत्तिकै थियो । म पनि त्यही ताँतीमा थिए ।

दश बज्यो । तीनवटा काउण्टरको ढोका खुल्यो । कुर्चीमा बस्नेहरू लाइन लागेर नागबेली घुम्दै (कुर्ची नागवेली तरिकाले राखिएको थियो) बिस्तारै काउण्टरतिर बढे । खाली भएका कुर्चीहरूमा अरु त्यती नै मान्छेहरू थपिन्थे । मलाई घरि–घरि ‘म्युजिकल चिएर रेस’ खेलको याद आउँथ्यो त्यस्तो देख्दा ।
काउण्टर अगाडि त्यस्तै २५–३० जनाको लाइन लगाइएको थियो । लाइन बिस्तारै अगाडि बढ्यो ।
हेर्दाहेर्दै फाराम बुझाएर फर्कनेहरू पनि भेटिन थाले । भर्खरै फाराम बुझाएर आएका एकजना भाइलाई मैले सोधे ।
‘कति समय लाग्ने रैछ, साथी ?’
उसले भन्यो, ‘खासै लाग्दैन रैछ । पालो पाउन मात्र समय लाग्ने हो । त्यहाँ पुगेपछि त एकैछिनमा हुने रैछ ।’
‘तपाईको टोकन नम्बर कति थियो नि?’ म नजिकै उभिएको अर्को साथीले उसलाई सोध्यो ।
‘पाँच ।’ उसले हाँस्दै जवाफ दियो ।
‘ओहो, पाँच ? बिहान कति बजे आउनु भको नि टोकन लिन ?’ मैले सोधे ।
‘म त राती १२ बजेदेखि नै बाहिर थिए नि । लाइन त बिहान ४ बजेतिर लागेको ।’ उसले आँखा मिच्दै भन्यो ।
मैले छक्क परेर उसलाई हेरे । तराईतिरका लाग्ने तिनले सामान्य सर्टमाथि हाफ सुँइटर लगाएका थिए । प्यान्ट र स्पोर्ट सुज लगाएका थिए । गलामा गम्छा बाँधेका थिए । पछाडी मैलो–मैलो देखिने झोला भिरेका थिए । झोलामा विश्व चर्चित ब्राण्ड ‘एडिडास’को लोगो थियो । हातमा उही ‘माइ क्लिएर ब्याग’ थियो ।
‘त्यो हातको के हो नि ?’ मैले सोधे ।
‘स्लिप हो । अर्को हप्ता मंगलबार यही स्लिप र नागरिकता लेर आउनु पर्छ रे पासपोट लिन ।’ उ त्यसै–त्यसै द¨ देखिन्थ्यो । हुन पनि किन नपरोस् त द¨ । कति दिन देखि यहाँसम्म धाएर आएको छ, यही राहदानीको लागि भनेर ।
टोकन नन्बर पाँच आफ्नो बाटो लाग्यो । म घाँटी तन्काई तन्काई काउण्टरतिर हेर्दैथिए । लाइन कतिको छिटो अगाडि बढ्दै छ भनेर । लाइनतिर हेर्दै, हातमा स्लिप बोकेर फर्कनेहरूलाई नजिकै आउनासाथ ‘तपाईको नम्बर कति हो ?’ भनेर सोध्न छाडेको थिइन । किनकी कति नम्बरको पालो आयो भनेर थाहा पाउने त्यहाँ भरपर्दो माध्यम त्यही नै एउटा थियो । काउण्टरको ढोका माथि ‘प्लिज प्रोसिड’ भनेर लेखिएको टोकन नम्बर डिस्प्ले गर्ने साधन पनि खोइ कति दिन देखि हो धुलो खाएर बसेको थियो ।
विस्तारै टोकन नम्बर १०, ५० हुँदै १०० को पनि पालो आयो । क्रमशः टोकन नम्बर अनुसार नै फाराम बुझाउँदै फर्कनेहरूको संख्या पनि बढ्दै गयो ।

मैले आफ्नो टोकन नम्बर हेरे । १४०९ । यसो हिसाब गरे । एकजनालाई फाराम बुझाउन १ मिनेट नै लाग्यो भने पनि १३०० मिनेट जति पछि मात्र मेरो पालो आउने छाँट देखे । हुन त तीनवटा काउण्टरबाट भकाभक फाराम बुझ्ने काम त हुँदै थियो । त्यही नि, लौ आज मेरो पालो आउँला जस्तो लागेन । तर मैले सुनेको थिए, एकदिनमा जति टोकन नम्बर दिइन्छ, ती सबैको पालो सोही दिन आउँछ भनेर । अघि भर्खर शौचालय बाहिर गाइगुँइ सुनेको कुरा । विस्वस्त हुन नजिकै रहेको एकजना प्रहरीलाई सोधे ।
‘दाजु मेरो टोकन नम्बर १४०९ हो । आज मेरो पालो आउँला कि नआउँला?’
‘हे हे, तपाईं ढुक्क हुनुस् । भित्र छिरेको जति सबको पालो आउँछ । ढिलो चाँडो मात्र हो । बरु तपाईंको त बेलुका तिर मात्र आउँला पालो ।’ ती प्रहरी दाइले यसो मलाई तलदेखि माथिसम्म हेर्दै भने ।

बाहिर निस्क्ने मन थिएन । फेरि एकछिन त्यतैतिर टहल्न निस्के । चमेना गृह भएकोतिर जान मन लाग्यो । किनकी त्यहाँ घाम ताप्न पाइन्थ्यो । समय कटाउन एकजना साथीलाई यसो पढ्न लाएकका एक दुईवटा किताब लेर आइदेउँ है भनेको थिए । तर साथी आउँछु भनेर भनेको नी दुई घण्टा भइसकेको थियो । साथी आउँछ कि भनेर गेटतिर हेर्न भने छाँडेको थिइन । चमेना गृह नजिकै पुग्दा ३–४ जना युवाहरू माथितिर हेर्दै कुरा गर्दै थिए । मैले पनि त्यतैतिर हेरे । उनीहरू नजिकै रहेका रुखहरूमा टन्नै झुण्डिरहेका चमेरा हेर्दै तिनीहरूकै बारेमा कुरा गर्दै रहेछन् ।
एकजना भन्दै थियो, ‘यो चमेरो भन्ने जात पनि अजबै पो हुन्छ भन्या ।’
‘मलाई त डर लाग्छ चमेरा भन्नासाथ । इङ्लिस फिलिमहरूमा त भूत भएको घरमा बस्छन् नि यीनिहरू त ।
आबुइऽऽऽ ।’ सँगै माथितिर हेरिरहेको एकजना केटोले आङै जिरि¨ भए झैं, कुम हल्लाउँदै भन्यो ।
‘हैन यो चरा हो कि जनावर ? अचम्म छ है ?’ अर्कोले सोध्यो ।
म माथितिर, चमेरै हेर्दै थिए । एक हुल चमेरा खै कताबाट हो ह्वार्रर आउँथे । हाँगामा बस्थे र हात हाँगामा अठ्याएर शरिर तुन्दु्र¨ तलतिर झुण्डाउँथे, टाउँको तलतिर पारेर । मलाई नि अचम्मै लाग्यो । काठमाडौं बस्दा, त्यतातिर बाटो पर्दा देख्न त देख्थे ती चमेराहरूलाई तर त्यसरी ध्यान दिएर हेरेको थिइन ।

केही बेरमा हुलका हुल मान्छेहरू चमेना गृहतिर कुद्दै आए । हामी चमेरा हेरिरहेकाहरूको ध्यान त्यतैतिर गयो । एकजना दौडेर म नजिकैबाट अगाडि बढ्दै गरेको एकजना केटालाई सोधे, ‘साथी, फेरि किन हो दौडेको ? के भो ?’
‘ए, खाजा ब्रेक भो । अब एक घण्टा पछि मात्र बुझ्छ रे फाराम । सबै स्टाफ खाजा खान गए । त्यही भएर खाजा खान दौडेको ।’ साथी त्यती भनेर हतारिँदै चमेना गृहभित्र पसि पनि हाले । हेर्दाहेर्दै चमेना गृहमा समेत लामै लाम लाग्यो । लाम त बाहिर सम्मै पो आइपुग्यो । यसो घडी हेरे । दिउँसको १ बजेको थियो । भनेसी २ बजेसम्म खाजा बे्रक । लौं, खानै पर्यो । पेटकै लागि त यो मरिहत्ते गर्नुपरेको छ ।
मैले चमेना गृहमा पालो पाउने छनक देखिन । म त्यहाँबाट नजिकै रहेको चौरमा एकछिन बस्नुप¥यो भनेर त्यतैतिर लम्के । नजिकैबाट हातमा ब्ल्याङ्केट र डस्ना बोकेका तराई मुलकै एकजना मान्छे चमेना गृहतिरै लम्कँदै थिए । उसको साथमा अर्को एकजना साथी पनि थिए । ओहो, म उनको हातमा भएको ब्ल्याङ्केट र डस्ना देखेर उसलाई नै फर्कि–फर्कि हेर्न थाले ।

नजिकको चौर पुग्न पाछैन परबाट ‘त्याँ नबस्नुस्, दुबो माडिन्छ । उता गएर बस्नुस् ।’ भन्दै हात हल्लाउँदै एकजना दिदी उँ परबाट कराउँदै आएको देखे । म चौर नजिक पुग्दा पहिले देखि नै ३–४ जनाको समूह–समूहमा केही युवायुवतीहरू घाम ताप्दै गफिन व्यस्त थिए । ती दिदी नजिक आइपुगेर झन् मज्जाले हात हल्लाउँदै, ‘लौ, तपाईंहरू यहाँ नबसिदिनुस् । हेुर्नु त दुवो सप्पै मरिसक्यो ।’
‘याँ नबसे काँ गएर बस्ने त ?’ एकजना केटोले बसेरै ती दिदीलाई ठाडो घाँटी पार्दै सोध्यो ।
‘उ पर गएर बस्नुस् । एक दिन हैन दुई दिन हैन, तपाईंहरू जस्ता मान्छे दिनदिनै आउछन् ।’ ती दिदी चौरमा छरिएका बदामका बोक्रा उठाउन थालिन् । तर, ती चौरमा बस्ने कसैले ती दिदीको टेर पुच्छर लाएनन् । मलाई भने चौरमा बसौं कि नबसौं भइरहेको थियो । म उभिएरै सब चर्तिकला हेर्दै थिए । एकैछिनमा ती दिदी त्यहाँबाट खै कता लागिन् कसैले मतलब राखेनन् । केहीबेरमा ती दिदी फर्केर आइन् । उनको साथमा एकजना प्रहरी जवान् पनि थिए । ती जवान्ले सिठी फुक्दै, ‘ल ल तपाईंहरू त्यहाँबाट गइदिनुस् । चौरमा नबस्नुस् ।’ भनेर हातमा भएको डण्ठा हल्लाउन थाले । ती दिदी भने छेउमा गमक्क परेर मुसुमुसु हाँस्दै उभिएकी थिइन् ।
चौरमा बसेका सबैजना उठे र लाखापाखा लागे । ती दिदीले मुस्काउँदै, ‘हुन त भाइहरूले पनि ‘टु थाउजेन’ तिरेर या पासपोट लिन आउनु भको छ । हामी किन बस्न नपाउने भन्ने होला । के गर्ने मेरो पनि जागिर हो ।’ भनिन् ।
‘काँ दिदी टु थाउजेनले मान्नु । टेन थाउजेन नी । दश हजार ।’ उठ्दै गरेको एकजना केटोले भन्यो । ती दिदी अलि लजाउँदै, ‘ए अ टेन थाउजेन पो त ।’ भन्दै बगैंचामा ओइलाएका, सुकेका पात पति¨र टिप्न थालिन् । ती दिदी त्यहाँको बगैंचा र चौरको हेरचाह गर्ने माली रैछिन् ।
हामी अर्थात् म र चौरबाट उठेका केही साथीहरू भित्रै लाम लाग्ने ठाउँतिर लाग्यौं ।

(पलपलका घटना उत्तिकै महत्वपूर्ण र स्मरणीय हुनसक्छन् । तर हरेक पललाई यहाँ समेट्दा यो महाकाव्य हुने डर पनि त छ । त्यो कुरालाई मध्यनजर गर्दै र पढ्ने व्यत्तिको पललाई सम्मान गर्दै सबै कुरालाई मैले यहाँ समेट्न चाँहिन ।)

समय । समय, कट्नकै लागि चल्छ । घडीका सुँइहरू समय कटाउनकै लागि घुम्छन्, सायद ।
दुई, तीन, चार हुँदै पाँच पनि बज्यो । पाँच बजेसम्ममा भीड अलि होलो भइसकेको थियो । तैपनि केही सय सेवाग्राहीहरू कोही लाममा त कोही कुर्चीमा आफ्नो पालो कुरेर बसीरहेका थिए । म पनि त्यही भीडमा थिए । टोकन नम्बर १४०९ ।
नागबेली आकारमा राखिएका कुर्चीहरूमा बस्ने मान्छेहरूको अनुहारमा एक किसिमको जोश र उमङ्ग देखिन्थ्यो । उनीहरूलाई देख्दा यस्तो लाग्थ्यो कि यिनीहरू पनि अभिताभ बच्चनले खेलाउने टिभी रियालिटी शो ‘कौन बनेगा करोडपती’को हट सिटमा बसेका छन् । म नी त्यो हट सिटमा बस्ने पालो कुर्दै थिए ।
कुर्चीहरूको बिचमा एकजना मोटे मोटे, डल्ले डल्ले प्रहरी थिए । उनको काम कुर्चीहरूमा नम्बर गन्दै मान्छे बसाउने र लाइन अगाडि बढाउने थियो । उनी बेला बेलामा रमाइलो गफ गर्दै कुर्चीमा बस्नेहरूलाई मात्र नभै बाहिर उभिनेहरूलाई समेत हसाईरहेका थिए ।
कुर्दाकुर्दै, हेर्दाहेर्दै मेरो नि कुर्चीमा बस्ने पालो आयो । बसे । हतार हतार । आफू बसेको कुर्चीलाई मैले हट सिट नै माने । बिस्तारै लाइन अगाडि बढ्दै थियो । ढुकढुकी नि उत्तिकै बढ्दै थियो । एन्जाएटी बढ्दै थियो । हेर्दाहेर्दै, कुर्दाकुर्दै मेरो फाराम बुझाउने काउण्टर अर्थात् कोठा अगाडि लाममा उभिने पालो नि आयो । करिव २० जना जतिको लाममा म पनि उभिए । हामी अन्तिम–अन्तिमतिरका सेवाग्राहीहरू
थियौं । हामी पछाडी लाम थिएन । भीड धेरै कम भइसकेको थियो ।
अन्ततः मेरो पालो आयो । टोकन नम्बर १४०९ ।
फाराम बुझ्ने कोठा । भित्र छिर्नासाथ । दायाँपट्टि राहदानी अधिकृत र बायापट्टि ग्लोबल आईएमई बैंकका क्यासिएर थिए । राहदानी अधिकृतले फाराम सबै ओल्टाइपल्टाइ गरेर छाप हानिदिए । छाप हानेको फाराम क्यासिएरलाई दिए । तिनलाई मैले गोजीबाट झिकेर दश हजार रुपैंया दिए । तिनले मलाई एउटा रिसिप्टको स्लिप थमाइदिइन् र
भनिन्, ‘एक हप्तापछि आउनुस् ।’
हातमा रिसिप्ट लिएर त्यहाँबाट बाहिरिदा घडीमा बेलुकाको ५:३० बजेको थियो ।

एक हप्ता पछि : मंशिर २५ गते, मंगलबार
समय दिउँसो १२:३० बजे । परराष्ट्र मन्त्रालय । राहदानी विभागको बाहिरी भाग । राहदानी वितरण शुरु हुन डेढ घण्टा बाँकी ।

पोखराबाट त एकाबिहानै माइक्रो चढेको । १२ बजेतिर कलंकीमा झारिदियो । साथी प्रकाशले कलंकीबाट मलाई उसको बाइकमा यहाँसम्म ल्याइपु¥याएको थियो । त्यहाँ पुग्नासाथ एक साता अगाडिको माहोल पुनर्ताजा भए झैं भयो । उही ठाउँ । उही मान्छेहरूका भीड । उही लाम ।
आज पनि विहानै देखि लाम लाग्नेहरूको भीड थियो । झोलाबाट स्लिप झिकेर हेरे । ‘सी–५११’ रैछ आजको मेरो पासपोर्ट बुझ्ने नम्बर । राहदानी विभागको प्रमुख गेटको दायाँ र बायाँ रहेको टहरा मुनी पहिल्यै देखि लाम लागेर बस्ने सेवाग्राहीहरू टन्नै थिए । नजिकै रहेको लाममा गएर सोधे, ‘ए, बी, सी कुन लाइन हो यो?’
अगाडिको साथीले भने, ‘बीको लाइन ।’
‘सीको लाइन कता हो नि ?’ मैले फेरि सोधे ।
‘सीको लाइन त उ त्या हो?’ भनेर अलि परको लामतिर देखाइदिए ती साथीले ।
म त्यतैतिर लम्किए । प्रकाश पनि मसँगै थियो । उ पनि छक्क पर्दै, त्यहाँको माहौल हेर्दै मेरो पछि–पछि, जता जता गयो उतै हिँड्दै थियो ।
म सीको लाममा अन्तिममा गएर उभिए । प्रकाश पनि मेरो पछाडी उभियो । हामी एकछिन त्यही लाममा उभिइ उभिइ गफिन थाल्यौं । प्रकाश भन्दै थियो, ‘खुरुक्क जिल्ला गाँको बेला, जिल्लाबाटै झिकेको भए भैहाल्थ्यो नि ? यस्तो झमेला त पर्दैन थियो ।’
‘खै यार सजिलो र चाँडो हुन्छ भनेर द्रुत सेवा छानेको । के था यस्तो दुःख पाइन्छ भनेर ?’ मैले प्रकाशतिर नहेरी नजिकै उभिएका दुईजना प्रहरीहरूतिर हेर्दै जवाफ दिए । ती प्रहरी जवानहरू एकजना युवतीसँग गफिन व्यस्त थिए ।
‘तर एउटा अनुभव नै सही ।’ मैले मुस्स हाँस्दै प्रकाशतिर हेरे ।
केहीबेरमा एकजना प्रहरीले, ‘ल, ए र बी यतै बस्नुस् । सी र डी उ पारी गएर लाइन लाग्नुस् ।’ भन्यो । के चाहियो, सी र डीका सबै दौडी हाले । म नि दौडने शुरमा थिए । गएको हप्ताको दौडाइ अझै भुलेको
थिइन । अब भने प्रकाशले मसँगै दौडनु भन्दा छुटिनु मुनासिव ठानी, ‘ल, साथी तिमी लाइन लाग । म चाँही जान्छु ।’ भन्यो ।
‘ल, यार साथी । मसँगै दौडेर, लाइन लागेर तिमीलाई के फाइदा । जाउँ न त । म काम हुनासाथ फोन गरुला ।’ मैले भने । प्रकाश गयो ।
म अलि हतारिँदै पारी सी लाइनमा सामेल भए । करिब एक घण्टा जति लाइन बसे पछि मात्र भित्र छिर्ने पालो आयो । भित्र छिर्नासाथ दौड सुरु भइहाल्यो । दौडेर राहदानी वितरण काउण्टर अगाडि लाम लाग्न पुगियो । त्यहाँ ए, बी र सी काउण्टर छुट्टाइएका थिए । म सीको लाममा सामेल हुन नजिक पुगे । अघि लाम लाग्न, भित्र छिर्न गरेको मरिहत्ते भित्र आए पछि टुट्यो किनकी त्यहाँ जो अगाडि पुग्यो उही अगाडि नभै नम्बर क्रम अनुसार लाम लगाइँदै थियो । हरेक लाममा एकजना प्रहरी नम्बर अनुसार लाम मिलाउन व्यस्त थिए । नम्बर क्रम अनुसार मेरो लाममा सामेल हुने समय अलि पछि मात्र आउने देखियो । म अलि पछाडी नै उभिए ।

केहीबेर पछि राहदानी बाड्ने काउण्टरहरू खुले । बिस्तारै लाम अगाडि बढ्न थाल्यो । हेर्दाहेर्दै अगाडि लाममा उभिनेहरू हातमा राहदानी बोकेर फर्कन थाले । लगत्तै मेरो नि लाममा सामेल हुने पालो आयो । म लाममा थपिए । सहज र सजिलै लाम अगाडि बढिरहेको थियो । मिहिनेतको फल हात पार्न लालायितहरूको पछि–पछि म नि लालायित हुँदै अगाडि बढिरहे । केहीबेरमै म राहदानी वितरण काउण्टरको झ्यालमा पुगे । मैले काउण्टरमा बसेका कर्मचारीलाई स्लिप बुझाए । उनले नाम के हो भनेर सोधिन् । मैले मेरो नाम भने । उनले गएका साता बुझाएको फारामको तलपट्टि हस्ताक्षर गर्न लगाइन् । मैले हस्ताक्षर गरे । उनले स्लिपको नम्बर ‘सी–५११’ हेरिन् । सोही नम्बर अनुसार मिलाई राखेको राहदानी झिकेर मेरो हातमा थमाइदिइन् ।
अरे वा ! ‘हेर्दाहेर्दै महेशले नि पासपोर्ट बनाउने भयो ।’ मैले झट्ट मिराले केही हप्ता अगाडि अफिसमा भनेको कुरा सम्झिए । हे हे । म मनमनै हाँसे । हो त, लौ जा मेरो नि पासपोर्ट बन्यो ।
कतै केही त्रुटी भएको त छैन भनेर हातमा भर्खरै ‘तात्तातो’ परेको पासपोर्टमा लिखीत सम्पूर्ण विवरण पढ्दै म काउण्टरबाट बाहिरिए । धन्न केही त्रुटी भएको रहेनछ ।
मैले पासपोर्टलाई झोलामा राखे । मेन गेटबाट बाहिरिँदै गर्दा यसो पछाडि फर्केर हेरे । आजसम्मको लागि पाएका सबै टोकन नम्बरहरूलाई त्यही छाडेर म पोखरा फर्कने अन्तिम गाडि भेट्न कलंकी तिर हानिए ।

(स्मरणीय रहोस्, गा.वि.स हुँदै जिल्लामा द्रुत सेवा मार्फत् राहदानीका लागि सिफारिस र नागरिकता प्रमाणिकरणका लागि भोगिएका कुराहरू यस लेखमा समेटिएका छैनन् ।)

टोकन नं १४०९ का केही तस्विरहरु
यी तस्विरका क्याप्सनहरु लेख्न जरुरी ठानिन । आशा छ यी तस्विरहरु आफै बोल्नेछन् ।


भाजु महेश 
२०७० पुस १७ गते, पोखरा ।
(1 January 2013, Wednesday, Pokhara)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s